लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Sunday, August 2, 2015

On 10:23 PM by Arghelo Thapa   No comments
आजकाल झरीहरूले
रुझाउन छोडिसकेका छन्
छोडिसकेका छन्
मीठो धुन निकाल्न झरीहरूले
उता भ्यागुताहरूले
गीत गाउन छोडिसकेका छन्
माछाहरू पौडिन बिर्सिसकेका छन्

शहरदेखि कैयन माइल टाढा
केही गाउँहरूमा
झरी परिरहेको समयमा
किसानहरू स्याँखुमुनि
लुकामारी खेल्दै थिए
चराहरूले बचेरा छोप्दै थिए
मान्छेहरूले झरीहरूमा
पखाल्दै थिए आ–आफ्ना जिन्दगीलाई
उता फाँटमा एक जोडी प्रेमी
झरीमा रुझ्दै प्रेमको गीत गाउँदै थिए
नदीको किनारमा एक लेखक
झरीका थोपाहरूमा रमाउँदै थियो
मैले भत्केको चौतारीमा बसेर
झरी बारेको कविता लेख्दै थिएँ

तर हाम्रा जिन्दगीजस्ता देखिने
यी झरीहरूले
पखालेर लान सकेनन्
गरिब किसानका समस्याहरू
मान्छेका अशुद्ध सपनाहरू
बिरक्तिएका प्रकृतिका दुखहरू
बरु बगाइदिए झरीहरूले
सिङ्गो गाउँका नक्साहरू
बगाइदिए सुन्दर सपनाहरू
बगाइदिए जिउँदा मान्छेहरू
र मान्छेका आफन्तहरू

अहिले समयले झरीलाई
स्वार्थी बनाइदियो
या झरीले समयलाई
स्वार्थी बनाइदियो
तर आजकाल झरीहरूले
रुझाउन छोडिसकेका छन्
विरक्त लाग्छ यो झरीदेखि
निशब्द बनाइदिन्छ
मेरो कौतुहलिक मनलाई
किनकि,
धेरै वर्ष पहिले यस्तै झरीले
बगाएर लगेको थियो
मेरो नदीनेरको माटोको घरलाई
बगाएर लगेको थियो
मेरा प्रिय बा–आमालाई
पखालेर लगेको थियो झरीले
मेरा जिन्दगीका किस्साहरुलाई

त्यसैले,
सबैलाई प्यारो लाग्ने यो झरी
मलाई सधैजसो फिक्का लाग्छ
र झरीदेखि डर लाग्छ
रुझ्न मन लाग्छ झरीमा
पखाल्न मन लाग्छ अतीत
तर मलाई झरीदेखि डर लाग्छ

0 comments:

Post a Comment