लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Monday, July 13, 2015

On 10:11 PM by Arghelo Thapa in    No comments
एउटा गहिरो इनारको पिँधमा
माछा छट्पटाइरहेको छ
सुक्नै थालेको छ इनारको पानी
पिँधमा कमिलाहरु पलाएका छन्
आकाश सुख्खा छ तिर्खाएको प्रेमीझैं
सायद वर्षौवर्षसम्म
आकाशले बर्षात दिनेवाला छैन
जूनको उज्यालोमा केही पुतलीहरु
आकाशमा उडेका छन्
इनारको पिँधमा माछा तड्पिएको छ
कारण इनार सुख्खा छ
जसरी हामीले सुक्खा जिन्दगी बाँचेका छौं
जसरी हामीले सुख्खा हाँसो हाँसेका छौं
त्यसरी नै इतिहासले पनि
बारम्बार सुख्खा लँडाइ लडेको छ

इनारको पिँधमा थोरै पानी थियो
माछाहरु बाँचेकै थिए
वर्तमानमा बाँचिरहेका केही माछा
भूतमा पनि बाँचिरहेका थिए
भविष्यको कल्पना त स्वयम्
भविष्य आफैले गर्न सकेको छैन
छट्पटीमा माछा बाँचेका हुनेछन्
यो केवल सम्भावनार्थ हो

वरपर मान्छेहरु झुम्मिरहेछन्
हेरिरहेछन् दृष्य माछा र कमिलाको
इनारको किनार सीमा बनेको छ
सबैले एकै स्वरमा भन्दै छन्
माछा आफै मर्नेवाला छ
कुनै हतियारको जरुरी छैन
माछा आफै मर्नेवाला छ
यतिखेर माछाहरुले भनिरहेका  छन्
यो देश र इनारमा के फरक छ?
हामी र जनतामा के फरक छ?
यो देश ठ्याक्कै यही इनारजस्तो छ
हो, यो देश यही इनारजस्तो छ

0 comments:

Post a Comment