लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Sunday, January 19, 2014

On 10:40 PM by Arghelo Thapa in    No comments
नजिकैबाट धुँवाको मुस्लो मतिर धकेलेर बाइक मच्चियो । त्यो बाइकले मसँग बाइक नभएकोमा पछाडि फर्केर खिसी गर्दै झन कुदेजस्तो लाग्यो । सडक छेउमा साथी कुरेर बसेको मेरो दिमागमा एक्कासी रौद्र रसहरू जबरजस्ती हुलिए । आँखाहरु राता भए र उतै मोडिए जता भर्खरै बाइक गएको थियो । कसैलाई कुर्दा यत्तिकै दिमाग तात्ने । त्यसैमाथि बाइकले गिदी गर्दा कसको पो दिमाग तात्दैन र ? फरक्क फर्केर बाइक गएकोतिर हेरें । मेरो रिस एकैपटक शुन्य डिग्रीमा झरेछ किनकि नजिकै एउटी युवतीले मलाई हेरिरहेकी रहिछन् । खिस्स हाँसिन् र बाटोतिर फर्किन् । मेरा आँखाहरू भने उनका कोमल आँखामा गडेर हेरिरहेका थिए । म आँखालाई अन्तै मोड्न खोजिरहेको थिएँ तर आँखा म भन्दा पनि लोभी रैछन् । गुलाबी पाइन्ट थियो क्यारे । सुहाएको थियो । अलिकति कपालले गालामा चुम्बन गरिरहेको थियो मेरा आँखाले उनलाई चुम्बन गरेजस्तै । मेरो मनमा एक्कासी मायाका छालहरु नाचगान गर्न थाले । म मदहोस भएँ । मेरा नजरहरु उनीबाट हट्न पटक्कै मानिरहेका थिएनन् । गाडीका आवाजहरु यताउता भाग्दै थिए । म भने उनको आँखामा हेरिरहेको थिएँ । केटी भनेको चुम्बक रैछ । मेरो मन उनको एक हेराइमै उनीतिरै भाग्यो । म मुस्कुराएको थिएँ । उनले फेरि फर्केर हेरिन् । झन धेरै खुसीहरु जम्मा भएर मेरो मनभित्रै बाजा बजाउन थाले । मैले मायाको अनुभव गरें । प्रेमको अनुभूति गरें । उनले मलाई हेरेर खिस्स हाँसिन् र फेरि बाटोतिरै फर्किन् । सोंच्दैथे, अब नजिक जान्छु र फोन नम्बर माग्छु । सोंचले पूर्ण रुप लिन नपाउँदै एउटा बाइक युवतीको नजिक रोकियो । उनी खुसी भइन् र बाइकको पछाडि बसेर युवकको कम्मरमा च्याप्प समातिन् । एकाएक मनभित्र नाच्दै गरेका खुसीहरुले मौनधारण गर्न थाले । जिउ लुलो भयो । अलि पर पुगेर ती युवतीले पछाडि फर्केर हेरिन् । यतिखेर भने मेरो मनमा उनले हेर्दा खुसी लागेन । क्षितिजमा पुगुन्जेलसम्म मेरा आँखाहरुले उनकै पिछा गरिरहे । आफैले आफैलाई भनें – बिचरा म ।

0 comments:

Post a Comment