लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Friday, August 30, 2013

On 5:09 AM by Arghelo Thapa in    No comments
खासै मन्दिर नजाने कृष्ण आज मन्दिर गयो । मन्दिर जानुको उद्धेश्य अरु केही नभएर आफूले भर्खरै किनेको क्यामरामा केही मन्दिरका आकृतिहरू जम्मा गर्नु थियो । सायद नयाँ क्यामेराको प्रतिविम्व होला । उसको अनुहार अलि बढी नै चम्किरहेको थियो । एक्लै मुस्कुरायो र मन्दिरलाई केन्द्र बनाएर तस्वीरहरू कैद गर्न थाल्यो । क्यामरालाई प्रकृतिको उज्यालोबाट जोगाउँदै आफूले खिचेका तस्वीरहरू हेर्न थाल्यो । तस्वीरहरूको हुलमा एउटा तस्वीर उसलाई अलि फरक लाग्यो किनकि त्यो तस्वीरमा मन्दिर एकदम सफा देखिएको थियो । मन्दिर भन्दा पनि सफा थियो हातमा थाली लिएकी युवतीको तस्वीर । तस्वीरलाई जुम गरेर अलि ठुलो बनायो । एकछिन हेरिरह्यो । खिस्स हाँस्यो र मन्दिरतिर पुलुक्क हेर्‍यो । युवतीलाई नदेखेपछि कृष्ण हतार हतार त्यतितिर लम्क्यो । मन्दिरको तस्वीर लिने वाहनामा युवतीले पूजा गर्न लागेको दृष्य आफ्नो क्यामरामा कैद गर्‍यो । यताउता गर्न थाल्यो । युवती पूजा गरेर बाहिर आई । कृष्णलाई मनभित्र के के भएको जस्तो लाग्यो । युवती भने सरासर हिंडी । कृष्ण ऊ गएको हेरिरह्यो । मन्दिर परिसरमै अलि पर पुगेर युवतीले यताउता हेरी र नजिकै भएको वरको रुखनिर बसी । कृष्णले उसलाई हेरिरहेको थियो । युवतीले पनि कृष्णलाई बेला बेलामा हेर्ने गर्थी तर युवतीले हेर्ने बेला कृष्णले तत्काल आँखा मोडेर अर्कैतिर हेर्थ्यो । धेरै बेरसम्म यो प्रक्रिया चलिरह्यो । मान्छेहरू पूजा गर्थे, आफ्ना मोवाइलमा मुस्कुराएका तस्वीरहरू कैद गर्थे र जान्थे । कृष्णलाई धेरैले उछिने अथवा भनौं ऊ भन्दा पछि आएका थुप्रै मान्छेहरू पूजा गरेर, तस्वीर खिचेर गए । कृष्णलाई भने त्यो पल एकदमै छोटो लागेको थियो । कृष्ण र युवतीको धेरै बेरसम्म आँखा जुधिरह्यो । युवतीले कृष्णलाई हेरेर खिस्स हाँस्थी । कृष्ण भने उसको हेराइले झन पानी पानी हुन्थ्यो । कृष्णले मनमनै सोँच्यो – ‘यसरी नै पहिले मन्दिर आएको भए त मेरो स्योर गर्लफ्रेन्ड हुने रैछ । यो केटी स्योर पट्टिन्छे ।’ युवतीले थाहा नपाउने गरी उसका केही तस्वीरहरू क्यामरामा कैद गर्‍यो । नजिक गएर बोलौं कि नबोलौं भनेर आफैले आफैलाई सोध्यो । उसको मनले अझै पनि उसलाई निर्णय दिन सकिरहेको थिएन । नजर एकआपसमा ठोक्किरहेका थिए । नजरको ठक्करले मुस्कानहरू जन्मिरहेका थिए । कृष्णले मनमनै बोल्यो  – ‘कसैसँग आँखा जुधाउनुको मज्जा कस्तो हुँदोरहेछ आज थाहा भो । यस्तो लागिरहेछ कि ऊ मेरै लागि मन्दिर आएकी हो ।’ युवतीको मुस्कानले उसलाई घायल बनाएको थियो । दुरीले केही टाढा भएपनि उनीहरू नजरको माध्यमबाट एकदमै नजिकिएका थिए । कृष्णले सोँच्यो – ‘ह्या कति नजरको तीर हान्नु ? बरु गएर सिधै हाइ भन्छु ।’ कृष्ण तस्वीर लिने निहुँमा युवती भएतिर आयो । युवती भने जुरुक्क उठी र परबाट आउँदै गरेको अर्को युवकलाई हाइ भनी । कृष्ण टक्क अडियो । युवतीले हतार हतार गर्दै कृष्णलाई हेरी तर यो पटक हाँसिने । परबाट आउँदै गरेको युवक नजिकै आएर युवतीसँग अंकमाल गर्‍यो । उसको हात समाएर गयो । कृष्णका सबै कल्पनाका घरहरू भत्के । युवती बसेको ठाउँमा बस्यो । सबैले बजाएर थाकेको मन्दिरको घण्टाजस्तै थकित बनेर क्यामरामा भएका तस्वीरहरू डिलिट गर्न थाल्यो । एउटा तस्वीर भने जति प्रयास गर्दा पनि हटाउन सकेन । त्यो थियो – ‘नजरले मनमा कैद गरेको त्यो युवतीको तस्वीर ।’

0 comments:

Post a Comment