लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Sunday, December 28, 2014

On 10:41 PM by Arghelo Thapa in    5 comments
नेपाली मिडियामा अहिले हिन्दू राज्यको मुद्दा चर्चाको विषय बनेको छ । विश्वमा एकमात्र हिन्दू राज्यको पहिचान बनाएको देश नेपाल अहिले धर्म निरपेक्ष राष्ट्र भएको छ । यसका फाइदा सायद केही पक्षलाई होलान् तर फेरि नेपाल हिन्दू राज्य बनाइनुपर्छ, बनाइनु हुँदैन भन्ने चर्चा सामाजिक सञ्जालमा मुख्य विषयका रुपमा उत्खनन भइरहेको छ । यही मुद्दाले हुनुपर्छ, अहिले धर्मको बारेमा (खासगरी हिन्दू धर्मका बारेमा) धेरै खालका नकारात्मक विचारहरु फैलिरहेका छन् ।

सुरुमा सबैलाई यो अवगत होस् कि, म पूर्ण रुपमा भगवान मान्दिन । अर्थात म आधा मान्छु, आधा मान्दिन । किनकि मलाई ग्रन्थका कुरा किम्बदन्ती लाग्छन् । तर केही रहस्यले साँच्ची भगवान हुन्छन् कि भन्ने भ्रम पैदा गरिदिन्छ । यो विचार (यो लेख होइन) राख्नुका केही उद्देश्यलाई प्रष्ट पार्न चाहन्छु ।
– धर्म व्यापारका लागि कि दर्शनका लागि ?
– के भगवान छन् ? यदि छन् भने को हुन् भगवान ?

धर्मभित्रको व्यापारीकरण
धर्म अहिले व्यापार गर्ने एउटा गतिलो थलो बनेको छ । व्यापारको चरम रुप संसारभर देखिएको छ । समयसँगै मानिस बदलिँदै गयो । बुझ्ने भयो । अझ धेरै बुझ्ने भयो । प्राचीन कालमा पनि धर्मको खेती अविरल रुपमा फैलिएका तथ्य हामी पढ्न पाउँछौं । माध्यमिक कालमा भगवान नमान्ने केही मान्छेहरुको जमात निस्क्यो । जसले धर्मको विरोध गर्न थाले र अर्को धर्म जन्माउन थाले । बरु हामी यसरी बुझ्न सक्छौं – 'धर्म केवल संस्कारको विकास गर्न बनाइएको एउटा कानुन थियो ।' आधुनिक कालमा जन्मिएका केही व्यक्तिले आफूलाई भगवान ठान्नु र भक्तले उनीहरुलाई भगवान मानेर पूजा गर्नुको कारण मलाई यस्तै लाग्छ । उदाहरणका लागि ओशो, साइबाबा आदि ।
प्राथमिक कालमा पनि यस्तै केही विद्वान थिए । जसले एक किसिमको सिद्धान्तको विकास गरे । त्यो थ्योरीको विज्ञापन गरे र भगवान बने । त्यस्तै भगवान हुन्, यशु, अल्लाह, बुद्ध आदि । त्यसोभए हिन्दू धर्ममा उत्पादन भएका तेत्तिस करोड भगवान को ? यी सबै पात्र हुन् र वेद ग्रन्थ हो । वेद त्यस्तो ग्रन्थ हो, जसमा मान्छे जिउने कला सिकाइएको छ । मान्छे बाँच्ने नियम सिकाइएको छ । त्यसैका आधारमा हामीले बाँच्न सिकेका हौं । हामीलाई बाँच्न सिकाएका हुन् अग्रजले । अरु ग्रन्थ पनि यसरी नै लेखिएका ग्रन्थ हुन् । यसर्थ हामी भन्न सक्नुपर्छ – 'धर्म कुनै भगवान होइन । यो दर्शन हो ।'

मैले यहाँ जोड्न खोजेको कुरा के भने आखिर धर्म आफैमा भगवान होइन भने किन धर्ममाथि व्यापार भइरहेको छ ?

विकसित देशमा फैलिएको परमेश्वर यशु (परमेश्वर बनाइएको हो । जो परमेश्वर नभएर एक आम मान्छे हो ।) को व्यापारीकरण विश्व बजारमा अग्र स्थानमा आउला । त्यसो त अल्लाहको नाममा मान्छेको विनाश गर्ने कट्टर मुस्लिमको पनि संसारमा खडेरी लागेको छैन तर नेपालमा मौलाएको धर्मको दुवो प्रभु यशुको हो । यहाँ मान्छे दैनिक जसो किनिएका छन् । गरिबीको माटोमा क्रिस्चियन धर्म यसरी मौलाएको छ कि, मानौं प्रभु यशुले चमत्कार नै गरिदिन्छ । यो सोंच र नियतले जन्माएको एउटा डरलाग्दो सम्भावना हो । मान्छेले पैसाका लागि मात्र प्रभु यशुको शरणमा गएका छैनन् । उनीहरुलाई आदत बस्दै गएको छ । पत्याउनु भएन ? भएन भने एउटा काम दिन्छु – तपाई सबेरै मन्दिरमा जानुस् र एकाग्र भएर एक महिनासम्म भजन गाउनुस् । तपाई भगवान मान्नुहुन्न भने पनि मान्न थाल्नुहुन्छ किनकि तपाईले त्यहाँ स्वार्थीको दुनियाँ त्यागेर एक किसिमको आनन्द पाउनु भएको हुन्छ । हो, ठ्याक्कै यही सुत्रले काम गरेको छ चर्चमा । अन्धभक्तहरु भगवान भन्दै प्राथना गरेका छन् । यही नै बानीमा  विकास भएको छ । एउटा सामान्य उदाहरण – हिजो तपाईलाई कविता खुब मन पर्थ्यो तर आज कसैले तपाईलाई बारम्बार गजल सुनाउन थाल्यो । केही दिनपछि तपाईलाई गजल मन पर्न थाल्छ । यसर्थ धर्म आदत हो । भ्रम हो । भगवान होलान् तर ग्रन्थमा छैनन् । दर्शनमा छैनन् ।

नेपाल एकमात्र हिन्दू राज्य थियो । हिन्दू राज्य हुँदैमा अरु धर्मका अधिकार खोसिए भन्ने मुद्दालाई मध्यनजर गरेर सरकारले धर्म निरपेक्ष राज्य त बनायो तर धर्मको नाममा फैलिएको व्यापारलाई रोक्न सकेन । पैसामा बेचिएको धर्म र विज्ञापनमा किनिएको सोंचलाई महत्व दिएन । त्यसैले नेपाल भोलिका दिनमा धार्मिक युद्धको भूमि हुन सक्छ । जसरी अहिले छिमेकी राष्ट्र भारत लगायत विश्वभर खतरनाक भाइरस बनेर फैलिएको छ धार्मिक युद्ध ।
 
आखिर भगवान को ?
कक्षा दशमा पढ्दा मैले भगवानको खुब विश्वास गर्थें । भेटेजतिका मन्दिरमा वर माग्थें । ढोग्थें । पूजा गर्थें । मैले सबै भगवानसँग मागेको वर एउटै थियो । र मैले त्यो वर अर्को सालसम्म पूरा होस् भनेर कामना गरेको थिएँ । तर दुखद पक्ष भन्नुपर्छ भगवानले मेरो वर पुरा गरिदिएनन् । त्यसपछि मलाई आजसम्म भगवानको विश्वास लागेको छैन । सायद यो मेरो कमजोरी हुन सक्छ । या स्वार्थीपना ।

मैले मान्दै नमान्ने भगवानलाई प्राय म दुख पर्दा सम्झेको हुन्छु । सुख पर्दा भगवान मान्दिन पनि । तर मैले सम्झिने भगवान एउटा तत्व हो । अदृश्य शक्ति हो । यही अदृश्य शक्तिलाई सय थरीले सय तरिकाले विकाश गरे र धर्मको व्यापार गरे । कुरा यत्ति हो ।

मलाई लाग्छ, हिन्दू गन्थ्रमा उल्लेख गरिएका पात्रहरुको जस्तो अनुहार भगवानको छैन । न त अल्लाहको जस्तो छ, न क्रिस्चियन, न बुद्घ, न अरु कोही । भगवान छन् तर अदृश्य छन् । बरु यिनको कुनै अनुहार नै छैन । यी वायु हुन् । हामी ग्रन्थमा भएका हाँस उठ्दा पात्रलाई भगवान मान्छौं । काल्पनिक पात्रलाई भगवान मानेर काल्पनिक संसारमा पुग्छौं र भगवान प्राप्ति गर्छौं । यही हाम्रो कमजोरी हो । बरु भगवान आत्मामा छन् । बस्, हामीलाई अनुभव हुनुपर्‍यो । भगवान छन् भन्नुका केही कारण पेश गर्न चाहन्छु –

यी सबै आफूले बुझेका घटना हुन् । त्यसैले विश्वास लाग्छ मलाई ।

घटना एकः केही समय अगाडि मैले ‘भगवान हुँदैनन् । वेद कुनै अज्ञात लेखकले लेखेको ग्रन्थ मात्र हो’ भनेर फुपूसँग बहस गर्ने बेलामा उहाँले एउटा घटना सुनाउनु भयो –
बाग्लुङ जिल्लामा बाग्लुङ कालिका मन्दिर छ रे ! केही वर्षअघि फुपू त्यहाँ पुग्दा वर माग्नुभएको थियो रे ! वर पूरा भएपछि उहाँले आफूले भाकल गरेको कुरा भुल्नुभएको रहेछ । तर उहाँले प्रत्येक रात सपनामा बाग्लुङ कालिका मन्दिर जाने र फूल चढाएर आउने गरेको देख्नुभयो रे ! एउटै सपना सधैजसो दोहोरिएपछि फुपूले त्यो मन्दिर गएर भाकल पूरा गर्ने योजना बनाउनु भयो रे ! नभन्दै सपनामा देखेको बाटो, मन्दिर जस्ताको तस्तै विपनामा पनि रहेछ रे ! फुपूले भाकल पूरा गरेपछि त्यो सपना कहिल्यै दोहोरिएन रे !
अब भन्नुस् – त्यो सपना किन दोहोरिएको थ्यो भगवानको भाकलको कारण कि भ्रम ?

घटना २: यो पालीको दशैंमा घर जाँदा भाइले सुनाएको घटना हो यो ।
भाइले हरेक राति सपनामा अर्घाखाँचीको सुपा देउराली मन्दिर देख्थ्यो रे ! मन्दिर देख्ने तर कहिल्यै पनि मन्दिर पुग्न नसक्ने सपना दोहोरिएपछि भाइले सुपा देउरालीको लागि मागेको भाकल पूरा गर्छु भन्दै घण्टा किनेपछि त्यो सपना दोहोरिएन रे ! अन्तत उसले भाकल पूरा गरेको थियो । कारणवश उसले बोलाएको निम्तोमा म जान सकिन ।
यो घटना सुनेकै आधारमा म भगवानको विरोध गर्दै हिँड्ने व्यक्ति पनि मन्दिरको पूजा गरेर घाँटीमा माला लगाएको छु ।

घटना ३: यो घटना अलिक फरक छ ।
गाउँमा एकजना अंकल अल्सरको कारण थला पर्नुभएको थियो । उहाँलाई भरतपुर चितवनमा अपरेशन गरेर भर्खरै गाउँ लगिएको थियो । डाक्टरले बिरामीको घाउ बिस्तारै निको हुन्छ भन्ने सल्लाह दिएका थिए । चितवनबाट लगेको एक हप्तामा अंकलको पेट नराम्ररी दुख्यो । उहाँ राम्रोसँग बोल्न सक्नुभएन । थला पर्नुभयो । केही भयो कि भनेर उहाँलाई फेरि भरतपुर लगियो तर डाक्टरले उहाँको घाउ निको हुँदै गएको र अलिअलि दुख्नु सामान्य हो भनेर पठाइदिए । तर अंकलको हालत झन खराब भएको थियो । तिहार नजिकिँदै थियो । असह्य भएपछि अंकलले हामीलाई धामी लिन पठाउनुभयो । आधा घण्टा हिँडेर हामी धामी बाको घरमा पुग्यौं र उहाँलाई लिएर आयौं । अंकलको पीडा कम भएको थिएन । धामी बाले केही साम्रगी जुटाएर उहाँको आखत हेर्नुभयो र कसैले वन झाँक्री उठाएर हाल्देको भन्दै उवार गर्नुभयो । उहाँलाई उवार गरेको केही मिनेटमा हप्तौंदेखि छट्पटाइरहनु भएका अंकल एकाएक निको हुनुभयो । मजस्ता भगवान नमान्नेका लागि यो एउटा आश्चर्यको घटना थियो ।


यी घटनाहरुका आधारमा मैले के बुझें भने संसारभरिको वायुमा भगवानको वास छ । तर भगवान कुनै ग्रन्थमा छैनन् । भगवान अदृष्य छन् । तर हामी भगवान ग्रन्थहरुमा खोजिरहेछौं । पात्रहरुमा खोजिरहेछौं । हो, हामीले भगवानलाई चिन्न सकेनौं । जबसम्म हामी भगवानलाई चिन्न सक्दैनौं । तबसम्म यहाँ धर्मको नाममा व्यापार भइरहन्छ । वर्षौंदेखि मान्दै आइरहेको हिन्दू दर्शनको विनाश भइरहन्छ र नेपालजस्तो सानो मुलुकमा धर्म युद्ध चर्किन्छ । दर्शनको विनाश हुन्छ । दर्शनले हामीलाई नियममा बाँध्न सिकाउँछ भने हामी किन धर्मालम्बी नबन्ने ? के हामी हिन्दू दर्शनलाई लात हानेर क्रिस्चियन बन्दैमा भगवानको शरणमा जान सक्छौं ?  अहँ, पक्कै सक्दैनौं ।